खैरहनीमा किशोर किशोरीमैत्री स्वास्थ्यसेवा सम्बन्धी अभिमुखिकरण
चितवन , २६ बैशाख । खैरहनी नगरपालिकामा किशोर किशोरीमैत्री स्वास्थ्यसेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । अभिमुखिकरण कार्यक्रममा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको बारेमा खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले प्रस्तुतीकरण राखेका थिए । उनले किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको अवधारणा , त्यसको महत्व र आवश्यकता , उक्त सेवाको लागि स्वास्थ्य संस्थाको पुुर्वाधार , सेवा तथा स्वास्थ्यकर्मीहरुमा हुनुपर्ने ज्ञान सिपको बारेमा जानकारी दिएका थिए ।
किशोर अवस्थामा शारिरिक तथा मानसिक रुपमा परिवर्तन हुने समय भएकोले त्यसलाई संवेदनशिल अवस्था भएकाले सवै अभिभावक , शिक्षक तथा स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने खनालले बताए ।
उनले किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था , माध्यमिक तहका विद्यालय गरि ३१ स्थानमा किशोर किशोरी लक्षित स्वास्थ्य शिक्षा तथा सूचना सामाग्री राखिने बताए । उक्त शिक्षा तथा सूचना सामाग्रीमा किशोरावस्था र पोषण , मित्रता र माया , महिनावारी , सुर्तीजन्य पदार्थ , रक्सी र लागुपदार्थ , यौन र यौन सम्बन्ध , विवाह , गर्भावस्था र गर्भपतन , किशोरकिशोरी स्वास्थ्य , यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार लगायतको विषयवस्तु समेटिएको स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिए । कार्यक्रममा अभिभावक र शिक्षकशिक्षिकाको भूमिकाको बारेमा समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले कशोरकिशोरी अवस्थामा अभिभावक र शिक्षकको भुमिका महत्वपूर्ण हुने भएकोले जिम्मेवार हुनुपर्नेमा जोड दिए । किशोर अवस्थामा हुने शारिरिक परिवर्तन र मानसिक रुपमा चंचलतालाई अभिभावक र शिक्षकको सहि सल्लाहसुझाव र मार्गदर्शन आवश्यक पर्ने नगर प्रमुख खनियाले बताए । उनले किशोर अवस्थामै लागुऔषध र्दुव्यसनी तथा सुर्तीजन्य पदार्थको कुलतमा फस्ने प्रबल सम्भावना रहेकोले सबैको सहयोगमा त्यसलाई न्यूनिकरण गर्न सकिने बताए । कार्यक्रममा खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा , नगर शिक्षा अधिकारी राजु बानिया , विभिन्न वडाका वडा अध्यक्षहरु , स्वास्थ्य संस्थाहरुको प्रमुख , विद्यालयका प्रधानाध्यापक , विद्यालय नर्स लगायतको सहभागिता रहेको थियो ।