खैरहनीमा विपन्न किसानलाई खेतीगर्न जग्गा भाडामा अनुदान
चितवन , १७ जेठ । चितवनको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषकलाई अनुदान दिने भएको हो । नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले जानकारी गराए ।
नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै हैन मुख्य व्यवसायको रुपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापनलाई सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख खनियाको भनाई रहेको छ । जग्गा नभएका, दुई कठ्ठा भन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसानहरुको पहिचान गरी अनुदान प्रदान गरिएको नगर प्रमुख खनियाले उल्लेख गरे ।
नगरपालिकाबाट जग्गा भाडाको लागि अनुदान पाएका अधिकांश किसानहरुले खाद्य बाली लगाउने बताएका छन् । विहान बेलुकाको छाक टार्न समस्या छ जग्गा भाडाको अनुदान पाएका सन्तोष बहादुर परियारले भने, “ मौसम अनुसार धान, तोरी लगायतका अन्नबाली लगाउने योजना बनाएको छु ” ।१० कठ्ठा जग्गाको भाडाको लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताइन् । “खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानु पर्ने अबस्था थियो अब आफै फलाएर जीवन धान्ने योजना छ । ” उनको भनाई थियो ।
खैरहनीमा विपन्न, मध्यम र व्यवसायिक गरी तीन प्रकारका किसानहरु रहेको भन्दै मेयर खनियाले विपन्नलाई कृषि पेशामा आबद्ध गराउने, मध्यम किसानलाई उकास्ने र व्यवसायिक किसानलाई अनुदान मार्फत उत्पादन बढाउने गरी काम गरिरहेको बताए । नगर उप प्रमुख कविता उप्रेतीले विपन्न तथा भूमिहिन किसानलाई कृषि उत्पादनसँग जोड्न जग्गा भाडामा अनुदान कार्यक्रम ल्याइएको बताइन् । यसलाई क्रमश विस्तार गर्दै लैजाने योजना रहेको उप प्रमुख उप्रेतीको भनाई थियो ।
कार्यक्रम कार्यान्वयनको लागि जम्मा ८ हेक्टर जमीनमा खेति गर्न सम्झौता भएको यसबाट वार्षिक २१० मेट्रिक टन तरकारी र १८.५ मेट्रिक टन खाद्यान्न थप उत्पादन हुने नगरपालिकाले अपेक्षा गरेको नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिए । यस कार्यक्रममा हाल सम्म ३१ जना कृषक २.५ कठ्ठा देखि १० कठ्ठा सम्म जग्गा भाडा अनुदानको लागि सम्झौता भएको र छनौट भएका कृषकले प्रति कठ्ठा प्रति महिना २ हजार रुपैयाँको दरले ३ वर्ष सम्म निरन्तर अनुदान प्राप्त गर्ने नगरपालिकाले जानकारी गराएको छ ।