खैरहनीमा मन्टेश्वरी शिक्षक तालिम सुरु
चितवन , २४ जेठ । खैरहनीमा मन्टेश्वरी शिक्षक तालिम सुरु भएको छ । सिटिभिटीबाट माध्यता प्राप्त व्यवसाय विकास तथा परामर्श केन्द्र प्रा.लि विविसी टे«निङ सेन्टरद्वारा संचालित मन्टेश्वरी शिक्षक तालिमको आज पर्सामा उद्घाटन गरिएको हो ।
खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले तालिमको उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख उप्रेतीले मन्टेश्वरी तालिमको माध्यमबाट दक्ष शिक्षकहरु आउने जसको कारण शिक्षासँगै रोजगारीको क्षेत्रामा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बोल्दै खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कंडेल , उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले तालिम लिएर मात्रै नहुने भन्दै त्यसको प्रयोग गर्नुपर्नेमा जोड दिए । दक्ष व्यक्तिहरुको कमी भइरहेको अवस्थामा यस प्रकारको तालिमले दक्ष शिक्षक उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमकी अध्यक्ष तथा विविसी टे«निङ सेन्टर पर्सा शाखाका व्यवस्थापक शिला उप्रेतीले अहिले मन्टेश्वरी शिक्षकको ४५ दिने आधारभुत तालिम संचालन गरिएको बताइन् ।
बिहान , दिउँसो र बेलुका गरि तिन समुहमा मन्टेश्वरी तालिम संचालन गर्न सुरु गरिएको उनले बताइन् । आफुहरुले मन्टेश्वरी शिक्षक तालिमसँगै महिला स्वरोजगारसँग सम्बन्धीत व्युटिसियन , पार्लर लगायतको तालिम समेत सुपथ मुल्यमा संचालन गरिरहेको बताइन् । तालिमको माध्यमबाट महिलाहरु स्वरोजगार हुने, आम्दानीक हुने र शिक्षाको स्तर वृद्धि समेत होस् भनेर तालिम संचालन गरिएको उप्रेतीले बताइन् । आधारभुतसँगै एडभान्स तालिम समेत संचालन गरिने उनले बताइन् ।