त्रिशुलीमा खसेको बस खोज्न समस्या,कालिखोलाको पहिरोको कारण सशस्त्रको गोताखोर टोली पुग्न ढिलाई
चितवन, २८ असार । नारायणगढ मुग्लिङ्ग सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुबाहक कस त्रिशुली नदीमा खसेको छ । पहिरोले बस बगाएर त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । त्रिशुली नदीमा पानीको बहाव बढी रहेकोले बस नदेखिएको चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक भावेश रिमालले बताए । खोजी तथा उद्धारको नेपाल प्रहरीको ७५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उद्धारको लागि सशस्त्र प्रहरीको गोताखोरको टोली घटनास्थलतर्फ जादै गरेपनि पहिरोको कारण उक्त स्थानमा पुग्न सकेका छैनन् । नारायणगढ मुग्लिङ्ग सडककै कालिखोलामा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएकाले गोताखोरको टोली घटनास्थल पुग्न नसकेको सशस्त्र प्रहरी बल कुरिनटारका प्रहरी उपरिक्षक जनक पुरीले समावेशी खबरलाई बताए । खबर आउना साथ टोली परिचालन भएपनि पहिरोले बाटो अवरुद्ध हुदाँ सिमलताल पुग्न कठिन भइरहेको पुरीले बताए ।