खैरहनी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका
चितवन , ३१ असार । खैरहनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित् तथा दिगोपना भएको नगरपालिका घोषणा भएको छ । खैरहनी नगरपालिकाभित्रका १६ देखी २३ महिनासम्मका सबै बालवालिकाले १५ महिनासम्म पाउनुपर्ने सबै खोप पाएकोले नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको नगरपालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिका संयोजक नारायण प्रसाद अधिकारीको उपस्थितिमा खैरहनीलाई आज पूर्ण खोप सुनिश्चित् तथा दिगोपना नगरपालिका घोषणा भएको हो । खैरहनीका १३ वटै वडालाई पूर्ण खोप सुनिश्चित् तथा दिगोपना भएको वडा घोषणसँगै नगरलाई घोषण गरिएको हो । पूर्ण खोप सुनिश्चित् तथा दिगोपना नगरपालिका घोषणाको अवसरमा खैरहनीका १३ वटै वडालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समेत प्रदान गरिएको छ । त्यस्तै खैरहनीका १३ वटा स्वास्थ्य केन्द्रलाई पूर्ण खोप सुनिश्चितता गराउन खेलेको भूमिकालाई कदर गर्दै प्रशंशा पत्र समेत प्रदान गरिएको छ । खैरहनीका सबै वडालाई पूर्ण खोप वडा भएको प्रमाणिकरण यहि असार २३ गते भएको र पूर्ण खोप नगरपालिका असार २६ गते प्रमाणिकरण भएको खैरहनीका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले बताए । जिल्ला खोप समन्वय समितिले प्रमाणिकरण गरेपश्चात् आज घोषणा सभा आयोजना गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका संयोजक नारायण प्रसाद अधिकारीले हामी आफ्नो र बालवालिकाको स्वास्थ्य प्रति जिम्मेवार हुुनुपर्नेमा बताए । राज्यले स्वास्थ्यको लागि लागनी गरेको र विशेष ख्याल गरिरहेकोले हामी स्वयम् पनि जिम्मेवार हुुनुुपर्नेमा उनले जोड दिए । पूर्ण खोपको लागि स्वयम्सेविका र स्वास्थ्यकर्मीकहरुको भूूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रशंशा गरे । प्रतिवद्धता र घोषणाले सवैलाई थप जिम्मेवार बनाएको भन्दै यसलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक रहने बताए । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुुख दिनेश रुपाखेतीले खोप सेवा आधारभूत सेवा रहेको र पूूर्ण खोप पाउने बालवालिकाको अधिकार भएको बताए । नेपालमा वर्षिक ६ लाख २० हजार बालवालिकालाई निशुल्क खोप दिदै आएको उनले बताए । विभिन्न रोगहरुको नियन्त्रण , निवारण र उन्मुलन गराउन खोप प्रभावकारी रहने भएकाले खोप दिइदै आएको उनले बताए । कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकी उप प्रमुख कविता उप्रेतीले आगामी खोपले बालवालिकालाई विभिन्न रोगबाट बचाउने भएकाले आगामी दिनमा १५ महिना भित्रै बालवालिकाहरुलाई पूर्ण खोप लगाउनुुपर्नेमा जोड दिइन् । उनले रोग लाग्नुभन्दा पहिलानै खोप लगाएर सुरक्षित हुन सकिने भएकोले खोपलाई निरन्तरता र दिगोपना दिन सबै सरोकारवालाहरु जिम्मेवार हुनुपर्ने बताइन् ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रमका अध्यक्ष तथा खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले विभिन्न चुनौतीको बावजुत स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयम्सेविका , जनप्रतिनिधिहरुको प्रयासले खैरहनीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्न सफल भएको बताए । खोपको लागि बालवालिकाको तथ्यांक संकलन गरेर सोहि अनुरुप खोप सेवा संचालन गरिने तर त्यसबिचमा अस्थायी रुपमा खैरहनीमा वसोवास गर्न आउने वा बसाईसराई आउनेहरुको संख्या थप हुदाँ केहि बालवालिका छुट्ने गरेको भन्दै त्यस्ता बालवालिकालाई समेत स्वयम्सेविका र स्वास्थ्यकर्मीहरुको सक्रियतामा खोप लगाइएको उनले बताए । खोपको माध्यमबाट भविष्यको कर्णधार बालवालिकाहरुलाई विभिन्न रोगबाट जोगाउन सकिने र स्वस्थ राख्न सकिने उनले बताए । भौतिक पुुर्वाधारहरु सहजै देखिने तर खोप र अन्य स्वास्थ्य कार्यक्रमहरुको प्रभाव भौतिक पुर्वाधार जस्तो एकैपटक नदेखिए पनि त्यसले दिर्घकालिन रुपमा प्रभाव पार्ने नगर प्रमुख खनियाँले बताए । उनले शिक्षित परिवारका बालवालिका भन्दा विपन्न र अशिक्षित परिवारका बालवालिकाहरु खोपबाट छुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसमा विशेष ध्यान दिन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आग्रह गरे ।


























