माघे संक्रान्ति पर्व मनाइँदै
चितवन, ०१ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मकर (माघे) संक्रान्ति भनिन्छ, जसका कारण माघ १ गते यो पर्व मनाइन्छ । यही दिनदेखि उत्तरायण सुरु हुने भएकाले दिन क्रमशः लामा र रात छोटा हुँदै जान्छन् । उत्तरायणको प्रारम्भलाई शुभ मानिने भएकाले यस दिन गरिने स्नान, जप, तप, ध्यान, साधना तथा दानलाई विशेष पुण्यदायी ठानिन्छ ।
माघे संक्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत तीर्थस्थलहरूमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यी स्थानहरूमा आज विशेष मेलासमेत आयोजना गरिन्छ ।
तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ । वर्षभर नुहाउन सहज नहुने तराईवासीले पनि आजको दिन अनिवार्य स्नान गर्नुपर्ने धार्मिक मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गरे सुन दान गरे सरहको पुण्य प्राप्त हुने विश्वास छ ।
धर्मशास्त्रअनुसार माघ १ गते घ्यू, चाकु, तिलका परिकार र खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । उत्तरायण सुरु भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत र ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
माघे संक्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । चिसो मौसममा यी तातो परिकारले शरीरलाई न्यानो प्रदान गर्ने भएकाले यो परम्परा विकसित भएको मानिन्छ । आयुर्वेद चिकित्सकका अनुसार यस्ता खानाले त्रिदोष नाश गर्न सहयोग पुर्याउँछन् ।
कतिपय स्थानमा तरुल पुसको अन्तिम दिन पकाएर राखी माघमा खाने चलनसमेत छ । यस परम्परालाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानमार्फत पनि व्यक्त गरिन्छ ।



















