कोरिया : सरकारी नीति उल्लंघन गरेको आरोपमा चर्चका प्रमुखसहित १२ जनाविरुद्ध मुद्दा

Desk
  |   
प्रकाशित मिति: फाल्गुन १९, २०७६
46 Shares

काठमाडौं,१९ फागुन ।

दक्षिण कोरियामा सरकारी नीति उल्लंघन गरेको आरोपमा सिन्छन् जि यसु चर्चका प्रमुख ई मान हीसहित १२ जना विभागिय प्रमुखविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरुलाई ज्यान मार्ने उद्योग र सरुवा रोग तथा प्रकोप नियन्त्रणसम्बन्धी सरकारी नीतिको उल्लंघनको आरोपमा सउल महानगरपालिकाले सउल विशेष अदालतमा आइतबार साँझ मुद्दा दायर गरेको हो।

दक्षिण कोरियाको संसदले प्रकोप तथा महामारी नियन्त्रणका लागि गत साता जारी गरेको कानुनको कार्यान्वयन सुरु भएको छ। कार्यान्वयनमा आएको कानुनविपरीत हुने गरी महामारी तथा प्रकोपको वर्तमान अवस्थामा गोप्य रुपमा सामूहिक भेला आयोजना गरेको, भेलामा सहभागीको नाम ठेगाना र संख्या स्थानीय प्रशासनलाई जानकारी नगराएको, स्थानीय प्रशासनले बारम्बार स्वास्थ परीक्षणका लागि गरेको अनुरोध नमानेको र कोरियामा कोरोना भाइरसका अधिकतम बिरामी यसै समूहका भएको आरोपमा मुद्दा दर्ता गरिएको हो।

मार्च एकदेखि कार्यान्यवनमा आएको सरुवा रोग तथा नियन्त्रणसम्बन्धी कानुनअनुसार नियमपालन नगर्ने, झुटा समाचार दिने, रोगसम्बन्धी कुरा लुकाउने कार्य गर्ने तथा गराउनेका विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन मिल्ने गरी स्थानिय प्रशासनलाई अधिकार प्रत्यायोजन गरिएको छ।

कोरना भाइरससम्बन्धित झुटा र अतिरन्जित समाचार वा अफवाहको प्रचारप्रसार र प्रकाशन कोरियाको कानुनअनुसार बर्जित छ। कोरियाको प्रचलित कानुनअनुसार हदैसम्मको दण्ड सजाय हुने भएकाले झुटा, अतिरन्जित र कपोकल्पित समाचार प्रचारप्रसार र प्रकाशन नगर्न सरकारले अनुरोध गरेको छ।

Desk
प्रकाशित मिति: फाल्गुन १९, २०७६
46 Shares