पूर्वसभामुख महराविरुद्धको मुद्दामा आज फैसला वा आदेश आउँछ - श्रेस्तेदार श्रेष्ठ

Desk
  |   
प्रकाशित मिति: फाल्गुन ०५, २०७६
159 Shares

काठमाडौं ,५ फागुन।

यौन दुर्व्यवहारको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज (सोमबार) आउने भएको छ।

उक्त मुद्दामाथिको बहस न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार नै भइसकेको छ। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले फैसला सोमबार आउने बताए। यदि फैसला नआए आदेश आउने उनले बताए।

‘फैसला वा आदेश जे भए पनि आजै आउँछ,’ उनले  भने, ‘मुद्दा हेर्दाहेर्दैमा छ, हेर्दाहेर्दैमा भनेपछि १ नम्बरमै पर्छ, श्रीमान्ले हेर्दै हुनुहोला।’

यसअघि आइतबार महरापक्षका वकिलहरूले मुद्दामाथि बहस गरेका थिए। बहस अबेर सकिएको थियो। महराको पक्षबाट पूर्वमहान्यायधिवक्तासमेत रहेका अधिवक्ता रमणकुमार श्रेष्ठ, लवप्रसाद मैनाली, शेरबहादुर केसी, सविता भण्डारी बराल र भीमार्जुन आचार्यले बहस गरेका थिए।

त्यसपछि मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखिएको थियो। सरकारी वकिलहरूले भने यसअघि नै बहस गरिसकेका छन्।

संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग महरामाथि लागेको छ। अभियोग लागेपछि उनी १९ असोजमा पक्राउ परे।

अभियोग लागेसँगै महराको सभामुख पद गुमेको थियो। उनी हाल डिल्लीबजार कारागारमा छन्। पुर्पक्षका लागि उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले तत्काल प्राप्त प्रमाणको आधारमा १८ कात्तिकमा कारागार पठाएको हो।

उक्त आदेश कानुनविपरीत भन्दै उनले पुस ५ गते पुनरावेदनका लागि उच्च अदालत पाटनमा निवेदन दिए। तर, उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि उनी कारागार पुगेका हुन्।

अदालतले यदि महरामाथिको मुद्दामा दोषी ठहर्‌याउँदै फैसला गरे मुलुकी फौजदारी संहिता २०७४ अनुसार ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्छ।

संहितामा १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरका महिलामाथि जबर्जस्ती करणी गरेको ठहरिए उक्त सजायको व्यवस्था छ। नेपालन्युजबाट साभार

Desk
प्रकाशित मिति: फाल्गुन ०५, २०७६
159 Shares
Footer ads