निकुञ्जको घाँसे मैदान व्यवस्थापन अन्तिम चरणमा

Samabesi1
  |   
प्रकाशित मिति: असार ०२, २०७८
83 Shares
टेकराज पोखरेल नवलपुर, ३० जेठ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको मुख्य वासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जको घाँसेमैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७७÷७८ मा करीब तीन हजार हेक्टर क्षेत्रफल घाँसेमैदान निर्माण तथा व्यवस्थापन गरिंदैछ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले घाँसेमैदान निर्माण तथा व्यवस्थापनको काम ८० प्रतिशत पूरा भएको जानकारी दिनुभयो । घाँसेमैदान व्यवस्थापन तथा निर्माणमा बाँकी रहेको २० प्रतिशत काम पनि आगामी असार मसान्तभित्र निर्माण सम्पन्न हुने अधिकारीले बताउनुभयो । उहाँका अनुसार निकुञ्जले यसवर्ष दुई हजार ६०० हेक्टरमा नयाँ घाँसेमैदान निर्माण तथा ४०० हेक्टरमा पुरानो घाँसेमैदानलाई व्यवस्थापन गर्ने भएको छ । सरकारले निकुञ्जमा नयाँ घाँसेमैदान निर्माणका लागि रु तीन करोड ५० लाख तथा पुरानो घाँसेमैदान व्यवस्थापनका लागि रु एक करोड विनियोजन गरेको अधिकारीले बताउनुभयो । निकुञ्जको घाँसे मैदानमा मुख्यगरी दुबो, काँस, सिरू, बरूवा, नर्कट, थमेडा, ढड्डीजस्ता ५० भन्दा बढी प्रजातिका घाँस छन् । यस्ता घाँसहरु यहाँका वन्यजन्तुको मुख्य आहारासमेत भएको उहाँको भनाइ छ । घाँसेमैदानमा पलाउने माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायतका मिचाहा प्रजातिका झारलाई हटाउँदै पुरानो घाँसेमैदान व्यवस्थापनको काम गरिएको अधिकारीले बताउनुभयो । कूल ९५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको करीब १० प्रतिशत क्षेत्रमा घाँसेमैदान रहेको छ । यो घाँसेमैदान मिचाहा प्रकृतिका झार तथा बर्सेनि आउने बाढीका कारण घट्दै गइरहेकाले समेत यसको व्यवस्थापन गर्नु अत्यावश्यक भएको निकुञ्जले जनाएको छ । घाँसेमैदान व्यवस्थापनमा पुराना घाँस काट्ने, उखेल्ने र अतिक्रमण गरेका झाडी बुट्यानहरु हटाउने काम गरिन्छ । केही स्थानमा डढेलो लगाएर पनि घाँसे मैदान व्यवस्थापन गरिने सहायक संरक्षण अधिकृत अधिकारीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जले भदौदेखि घाँसेमैदानको ढाँचा तथा लागत अनुमान तयार गर्न थाल्छ । सार्वजनिक खरीद ऐनका कारण ढाँचा तयार गर्ने र लागत अनुमान तयार पार्नेलगायतका प्रक्रिया पूरा गर्न दुई महिनाभन्दा बढी लाग्ने उहाँले बताउनुभयो । लागत अनुमान तयार पारेपछि बोलपत्र निकाल्ने भन्दै बरालले बोलपत्र निकालेर ठेकेदारसँग सम्झौता भई काम शुरू गर्ने प्रक्रिया नै लामो हुने भएकाले काम सक्दा आर्थिक वर्ष सकिन लागेको बताउनुभयो । निकुञ्जको सुखीभार, भिम्ले, बूढीराप्ती, पूर्वी क्षेत्रको चपरचुली, पदमपुर, लामीताल, घटगाई, लगुना, जर्नेली ताललगायतका ३० भन्दा बढी स्थानका फाँटहरुमा ठूलाठूला घाँसेमैदान रहेका छन् । निकुञ्जले विशेषगरी गैँडा, पाटेबाघ, गौरीगाई, चित्तल, मृग, जरायो, लगुनाजस्ता जनावरको लागि प्राथमिकता दिएर घाँसेमैदान व्यवस्थापन गर्ने बरालले बताउनुभयो । वर्षमा कम्तिमा पनि दुईपटक निकुञ्जभित्रका घाँसहरु काट्न सकेको अवस्थामा घाँसेमैदान व्यवस्थापन राम्रोसँग गर्न सकिने बरालले बताउनुभयो । निकुञ्जका घाँसेमैदान यतिबेला घाँसका नयाँ पालुवा पलाएर हरियाली बनेका छन् । घाँसेमैदानहरु वनमा परिणत नहुन् भनेर वर्षमा एक पटक मात्रै भए पनि व्यवस्थापनको काम गर्ने गरिएको बरालले बताउनुभयो । हरेक वर्ष घाँसेमैदानलाई मिचाहा प्रजातिका बोट विरूवाले अतिक्रमण गर्ने भएकाले त्यसको व्यवस्थापन गर्ने गरिन्छ । जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणका लागि समेत घाँसेमैदान महत्वपूर्ण मानिन्छ । साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुका लागि घाँसेमैदान विचरण गर्न, खेल्न, हिँडडुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी क्षेत्र मानिने सहायक संरक्षण अधिकृत अधिकारीले बताउनुभयो । सन् १९७० को दशकमा निकुञ्जको २० प्रतिशतभन्दा बढी भागमा घाँसे मैदान रहेको भए पनि प्राकृतिक चक्रका कारण तथा घाँसे मैदानमा क्षेत्रगत एवं गुणात्मकरूपमा क्रमिक हस हुँदा हाल १० प्रतिशतमा झरेको छ । घाँसे मैदान व्यवस्थापनपछि निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम घट्ने निकुञ्जको विश्वास रहेको छ । यस वर्षको करीब ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ३१ वटा गैँडाको मृत्यु भएकामा २७ वटा प्राकृतिक कारणले मरेका निकुञ्जले जनाएको छ । विसं २०७७ मा भएको गैँडा गणनाअनुसार नेपालमा रहेका ७५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ छन् । - रासस
samabesi1
प्रकाशित मिति: असार ०२, २०७८
83 Shares