चितवनको भरतपुरमा भोलिदेखि कैलाश कप सेभेन ए साइड फुटबल हुँदै

Samabesi 1
  |   
प्रकाशित मिति: कार्तिक १०, २०७८
81 Shares

चितवन, १० कात्तिक । चितवनको भरतपुर–११ मा भोलि बिहीबारदेखि कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु हुने भएको छ । कैलाश युथ क्लब भरतपुर–११ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा चितवन, नवलपरासी र मकवानपुरका विभिन्न ३२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट एक–एक टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सर्वश्रेष्ठ नारायणी र वनदेवी क्लब भिड्ने छन् । खेल दिउँसो १२ बजे कैलाश क्लबको मैदानमा हुनेछ । फाइनल खेल १७ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सविन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ तथा सहप्रायोजकमा नव जागृति सामुदायिक वन रहेका छन् ।
कोभिड–१९ ले थलिएको खेल क्षेत्रलाई चलायमान बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण मरहट्ठाले बताए । प्रतियोगिताबाट स्थानीय खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रस्तुत गर्न अवसर मिल्ने विश्वास लिइएको उनको भनाइ छ । दुई संस्करणको भरतपुर मेट्रो कप आयोजना गरिसकेको क्लबले यस पटक स्थानीय खेलाडीलाई प्रोत्साहनका लागि सेभेन ए साइड फुटबल आयोजना गरेको बताइएको छ । तेस्रो संस्करणको मेट्रो कप यसै वर्षको अन्त्यतिर गरिने अध्यक्ष मरहट्ठाले बताए । 
प्रतियोगिताका मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईबी) ले फुटबलको विकासका लागि सहकार्य गर्न आफूहरु सधैँ तयार रहेको बताए । सह–प्रायोजक नव जागृति सामुदायिक वनका अध्यक्ष देव गुरुङले यस किसिमको प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता विकासमा सहयोग पुग्ने बताए । 

Samabesi 1
प्रकाशित मिति: कार्तिक १०, २०७८
81 Shares
Footer ads