पत्रकार किसन राईको मृत्युबारे प्रशासनदेखि दलको चासो, परिवार सशंकित

Desk
  |   
प्रकाशित मिति: कार्तिक ११, २०७८
118 Shares

खोटाङ, ११ कात्तिक । हङकङमा बसेर पत्रकारिता गरिरहेका पत्रकार किसन राईको खोटाङमा भीरबाट लडेर मृत्यु भएको विषयमा प्रशासन, प्रहरी, राजनीतिक दल र पत्रकारले चासो देखाएका छन् । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलानजिकै रहेको ध्वोजेम्पा भीरबाट खसेर पत्रकार राईको ७ कात्तिक साँझ मृत्यु भएको विषयमा प्रशासन, प्रहरी, राजनीतिक दल र पत्रकारले चासो देखाएका हुन् ।

पत्रकार राईको परिवार तथा आफन्तले घट्नालाई शंकास्पद मानिरहेको अवस्थामा बुधबार प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र डीएसपी उमेश लम्सालको टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै उद्धारका क्रममा खटिएका स्थानीयबाट घटनाको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।

प्रहरीले घट्नाको विषयमा अनुसन्धान गरिरहकै अवस्थामा जनता समाजवादी पार्टीका प्रदेश कमिटी सचिव सूर्य राई, जनता समाजवादी पार्टीका खोटाङ अध्यक्ष टंक थापालगायतको टोलीले पनि स्थानीयवासीसँग घट्नाको बारेमा जानकारी लिँदै घट्नास्थलको अवलोकन गरेको छ ।

पत्रकार राई खोलामा मृत फेला परेको विषयलाई कतिपयले स्वभाविक र कतिपयले नियोजित घट्नाका रुपमा व्याख्या गरिरहेको अवस्थामा जिल्लाका पत्रकारको टोली पनि घट्नास्थल पुगेको छ । पत्रकार टोलीले स्थानीयवासीसँग घट्नाको विषयमा धारणा बुझेर फर्किएका छन् । गाडी रोकेर दिसा गर्न भन्दै पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले बताए ।

घट्नास्थल पंखु खोलाबाट करिब पाँच सय मिटर भोजपुरतर्फ पर्छ । मुनि अग्लो छाँगो भएकै कारण सडकको डिलमा तारजालीले बाँधेको ग्याविन वाल उठाइएको देखिन्छ । तर, पत्रकार राई टुक्रे ग्याविन वाल नाघेर डिलमुनि पुगेको घट्ना प्रकृति देखिन्छ । सडकको डिलमुनि घट्नास्थलमा दिसा र प्रयोग गरेको नेप्किन यथावत छ । सडक खनेका कारण भिरालो बनेको पाखामा भीरतर्फ घस्रिएको र झार मडारिएको देखिन्छ । घटना प्रकृति दिसापिसाब सकेपछि डिलमाथि निस्कने क्रममा चिप्लिएर भीर उँदो खसेजस्तो अनुमान गर्न सकिने स्थानीय रेवत राईले बताए । पत्रकार राईको शव करिब दुई सयमिटर तल खोलामा पानीमा डुबेको अवस्थामा फेला परेको थियो । भीरमा पुगेर गाडी रोकिनु, प्रहरीलाई खबर ढिला हुनु, परिवारलाई बेलामा खबर नहुनुले आफन्तले घटनालाई शंकास्पद मानेका छन् । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश लम्सालले बताए ।

निजी गाडीमा पत्रकार राई सहित शसस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ, श्रेष्ठकी श्रीमती र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष मानबहादुर राना मगर सवार थिए । पत्रकार राईको शव उतै पोष्टमार्टम गर्नेगरी आफन्तले धरान लगेका छन् । घटनामा केही शंका गर्ने आधार रहेको जनता समाजवादीका जिल्ला अध्यक्ष थापाले बताए । 'वरवर सजिलो ठाउँ हुँदाहुँदै भीरको टाकुरामा गाडी रोकिएको छ । साथी लडेको खबर गाउँले र प्रहरीलाई ढिलो गरेको छ,' थापाले भने, 'उनीहरुको आर्थिक सम्बन्ध, व्यवसायीक सम्बन्ध लगायतको एंगलबाट अनुसन्धान गर्नुपर्न जरुरी देखिएको छ ।'

Desk
प्रकाशित मिति: कार्तिक ११, २०७८
118 Shares
Footer ads