भीमबहादुर मृत्यु प्रकरण : जातीय सद्भाव कायम राखौँ

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक ११, २०७८
143 Shares

आनन्द पोखरेल, चितवन, ११ कात्तिक । दसैँको नवमीको दिनमा मारिएका भीमबहादुर विश्वकर्माको हत्यामा जातीय तथा धार्मिक कारण नभेटिएको राष्ट्रिय दलित आयोग लगायतका संघसंस्थाहरुले बताएका छन् । घटनास्थल भरतपुर–४ को दुर्गा मन्दिरमा बिहीबार भएको कार्यक्रममा राष्ट्रिय दलित आयोग लगायतका विभिन्न संघसंस्थाले घटनालाई अतिरञ्जित गर्दै बाहिर हल्ला आएको बताएको हो । 
कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी आयोगको तर्फबाट घटनाबारे बुझ्न आफू चितवन आएको बताए । बाहिर हल्ला भएको जस्तो जातीय विभेदका कारण भीमबहादुर विश्वकर्माको हत्या नभएको भन्दै पुर्कोटीले आफूहरुले स्थलगत अध्ययन गरिरहेको बताए । घटनामा जातीय तथा धार्मिक कारण नजोडिएको भन्दै पुर्कोटीले मृतकको परिवारलाई उचित राहत प्रदान गरिनुपर्ने बताए । 
जातीय विभेद अन्त्य गर्नका लागि राष्ट्रिय दलित आयोग चाँडै विघठन गर्नुपर्ने पुर्कोटीको भनाइ छ । ‘जातीय विभेदलाई अन्त्य गर्ने हो भने राष्ट्रिय दलित आयोग विघठन गर्नुपर्छ’, पुर्कोटीले भने, ‘विभेद कायमै राख्ने हो भने आयोग राखौँ होइन भने आयोग चाँडै विघठन गरौँ ।’ आयोग रहेसम्म जातीय विभेद कायमै रहने पुर्कोटीको भनाइ छ । भीमबहादुर हत्याको घटनाको विषयमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्दै पीडितलाई उचित राहत उपलब्ध गराउनुपर्ने पुर्कोर्टीको भनाइ छ । 
कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले समाजमा कोही पनि उचनिच नभएको बताए । ‘हिन्दु धर्मले कसैलाई पनि भेदभाव गरेको छैन’, पोखरेलले भने, ‘जन्मिँदा सबै सामान हुन्छन्, कामको आधारमा महान् हुने हो ।’ केही व्यक्तिहरुले मनुस्मृतिले जातीयताको कुरा गरेको भन्दै हिन्दु धर्मलाई बदनाम गराउन खोजेका पोखरेलको भनाइ छ । पोखरेलले भने, ‘मनु स्मृति हाम्रो धर्म ग्रन्थ होइन, त्यो एउटा विधान हो । हजारौँ वर्ष अगाडि बनेको विधान अहिले सार्थक नहुन सक्छ त्यसैले त्यो सुधार हुँदै जानुपर्छ ।’ 
वेद र पुराणमा छुवाछुत नभएको भन्दै पोखरेलले भरतपुरको घटनालाई लिएर समाजिक सद्भाव खल्बल्याउन खोजिएको बताए । ‘मन्दिर र धर्मलाई दोष दिएर धार्मिक द्वन्द्व निम्त्याउन खोजिएको कुरा प्रष्ट भएको छ’, पोखरेलले भने, ‘धर्म, पुराण र वेदले कसैलाई पनि विभेद गरेको छैन, यस्तो आरोपमा हामी शास्त्रास्त्र गर्न तयार छौँ ।’ देशका उच्च ओहोदामा बसेका व्यक्तिले समेत घटनाबारे नबुझी समाजमा द्वन्द्व निम्त्याउने खालका टिप्पणीहरु गरेको भन्दै त्यस्तो कार्य नगर्न समेत पोखरेलले आग्रह गरे । 


कार्यक्रममा विश्व ओमकार महासंघका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले हिन्दू धर्म कसैलाई हेप्ने संस्था नभएको बताए । सबैलाई सद्भाव कायम राख्न ओमकार महासंघ स्थापना गरिएको उनको भनाइ छ । केही अधर्मीहरुले हिन्दुहरुको संस्कारमा प्रहार गर्न खोजिरहेका भन्दै महर्जनले निश्चित स्वार्थ भएका व्यक्तिका कारण घटनालाई बङ्गाउने काम भएको बताए । ‘घटना भएको ठाउँ शान्त छ तर काठमाडौंमा विरोध गरिँदैछ’ महर्जनले भने, ‘घटनाभित्र छिरेर हिन्दुधर्म भित्र खेल्ने काम भएको छ ।’  
सो कार्यक्रममा भरतपुर – ४ की दलित महिला वडा सदस्य कोपिला परियारले दुर्गा मन्दिरलाई दोष लगाइएकोमा आपत्ती जनाइन् । ‘मैले जानेदेखि यो दुर्गा मन्दिरमा कुनै पनि समुदायका व्यक्तिलाई पूजाआजामा कुनै पनि रोकावट हुने गरेको छैन’ परियारले भनिन्, ‘घटनाका बारेमा केही मिडियामा भनिएको जस्तो यहाँ कुनै बली प्रथा पनि छैन ।’ बलीप्रथा नै नभएको अवस्थामा पाठोलाई बली दिन लगेको भन्दै विभिन्न व्यक्ति तथा मिडियाले घटनालाई अतिरञ्जित गराएका परियारको भनाइ छ । 
केही व्यक्ति र मिडियाको कारण यो ठाउँलाई नै बद्नाम बनाउने काम भएको परियारले बताइन् । घटनाका बारेमा यथार्थ कुरा नलेखी युट्युवमा भ्युज बढाउने भन्दै हुँदै नभएको कुराहरु उल्लेख गर्न नहुने परियारको भनाइ छ । दुर्गा मन्दिर आस्थाको धरोहर भएकाले कुनै पनि जातजातिलाई मन्दिरमा पूजाआज गर्न निषेध नगरिएको परियारको भनाइ छ । 
बिहीबार सामाजिक सद्भाव कायम राख्नका लागि आग्रह गर्दै पत्रकार सम्मेलन गरिएपछि मन्दिरमा सामुहिक पूजाआज समेत गरिएको छ । मन्दिरका पुजारी सहित वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल तथा महिला वडा सदस्य कोपिला परियारले मन्दिरमा पूजाआजा गरेका छन् । मन्दिरमा पूजा गरेपछि परियारले वाचन प्रवीण दिनबन्धु सहित विभिन्न व्यक्तिहरुलाई टीका तथा प्रसाद प्रदान गरेकी थिइन् । 

Samabesi1
प्रकाशित मिति: कार्तिक ११, २०७८
143 Shares
Footer ads