भूमिहीन सुकुमबासी र नागरिकता सम्बन्धी समस्या यही सरकारले हल गर्छ : प्रचण्ड

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक ११, २०७८
68 Shares

चितवन, ११ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भूमिहीन सुकुमबासीको नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताएका छन् ।
चितवनको माडी नगरपालिका ९ स्थित बॉदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बॉदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताए । ‘मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ‘ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस्’ उनले भने ।
सो अवसरमा दाहालले माडीको विकासमा आफूले निर्वाचनका क्रममा गरेका वाचा अनुसार काम अगाडि बढाइरहेको बताए । ‘हामीले निर्वाचनका क्रममा गरेका बाचालाई बिर्सेका छैनौँ सोहि वाचाअनुसार काम धमाधम अगाडि बढिरहेको छ । रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीहरूमा पक्कीपुल र सडक कालोपत्रेको काम धमाधम भैरहेको छ' दाहालले भने, 'सुकुमबासी बस्ती हनुमान झुलामा बिजुली बत्ती विस्तारका लागि काम भैरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।’  
एक प्रसंगमा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री ओलीले माडीमा बनाउनका लागि प्रपोगान्डाको लागि राम मन्दिरको घोषणा गरेको बताउँदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताए । 

नागरिकता वितरण तथा सहजीकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता विहीन स्थानीयलाई घर आगनमै नागरिकता वितरण गर्ने उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । माडी नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रशासन चितवनको संयूक्त आयोजनामा नागरिकता वितरण कार्यक्रम भएको छ । ७३ वर्षीय हरिमाय प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्धाटन गरेका थिए ।
फूलमाय प्रजाले ७२ वर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातबाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएकी थिईन् । अर्की ७४ वर्षीय कृष्णमाया घलानले नागरिकता हातमा पाउदा दङ्ग पर्दै अब आफूले वृद्धभत्ता पाउनेमा खुसी व्यक्त गरिन् । ७ सन्तानकी हजुरआमाका सातै सन्तानसँग नागरिकता छैन । यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाउँदैछन् । बाँदरझुलाको नाम परिवर्तन भई हनुमान झुलामा परिणत भएको छ । यस वडामा अधिकांशको नागरिकता छैन भने यहॉका बासिन्दाहरूसँग जग्गा धनी प्रमाण पूर्जा छैन । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सीमावर्ती यस बस्तीमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र बस्ती विकासको काम हुन सकेको छैन ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेल, लगायतकाले बॉदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए ।
सो अवसरमा ७३ वर्षीय हरिमाया प्रजा ,७२ वर्षीया फूलमाया प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

Samabesi1
प्रकाशित मिति: कार्तिक ११, २०७८
68 Shares
Footer ads