उत्तरपुस्तिका जलेपछि पुन: परीक्षा गर्ने त्रिविको निर्णय
चितवन, २४ असोज । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा नष्ट भएका उत्तरपुस्तिकाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीका उत्तरपुस्तिका जलेर नष्ट भएका थिए। वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र, र शिक्षाशास्त्र संकायको गत भदौ २२ गतेदेखि सञ्चालन भएको ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो।
२२ र २३ गतेका परीक्षाहरूको उत्तरपुस्तिका सुरक्षाका लागि नजिकको प्रहरी चौकीमा राखिएको थियो। तर आन्दोलनका क्रममा चौकीमा आगो लगाउँदा ती उत्तरपुस्तिका जले। त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको असोज २२ गतेको बैठकले परीक्षा रद्द गरी पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। सम्बन्धित परीक्षा केन्द्र र त्यहाँका क्याम्पसहरूले आफ्ना विद्यार्थीलाई सो दिनका परीक्षा पुनः दिन निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ।