चितवनमा दाना उद्योगको वाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते
चितवन,२९ असोज । चितवनको रत्ननगर नगरपालिका–१२ शान्ति गुञ्ज टोलस्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्तो) भत्किँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्।
आज बिहान करिब ९ः५० बजे वाल भत्किएपछि उद्योगमा कार्यरत पाँच जना कामदार घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो।
उपचारका क्रममा मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई, रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दमाई, र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेका छन्। अस्पतालका अनुसार तीनै जनाको मृत्यु बिहान १०ः२४ देखि १०ः५१ बजेसम्मको बीचमा भएको हो।
त्यसैगरी, पर्सा घर भई हाल रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकज प्रसाद थारू घाइते भएका छन्। उनीहरूको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।
घटनाको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।