पाल्पामा बौद्ध परम्परा अनुसार ‘कथिन चीवर दान उत्सव’ सम्पन्न
चितवन,२९ असोज । पाल्पा जिल्लामा बौद्ध परम्पराअनुसार मनाइने पवित्र ‘कथिन चीवर दान उत्सव’ भव्य रूपमा सम्पन्न भएको छ।
दाता ज्ञानमाला सङ्घ आनन्द विहारको आयोजनामा आयोजित उत्सवमा वर्षा बासमा बसेका एक जना भिक्षुसहित देशका विभिन्न स्थानबाट आएका ६० जना भिक्षुलाई कथिन चीवर दान गरिएको थियो।
भिक्षुले लगाउने पहेँलो वस्त्र (चीवर) र भिक्षा पात्रलाई सामूहिक रूपमा दान गर्ने परम्परालाई ‘कथिन चीवर दान’ भनिन्छ। अष्ट परिष्कारअन्तर्गत भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागो लगायत आठवटा सामग्री दान गरिन्छ।
तीन महिने वर्षा बास अनुशासनपूर्वक पूरा गरेका भिक्षुहरूलाई यो अवसरमा चीवर र भिक्षा पात्र प्रदान गर्ने चलन रहेको छ। प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमासम्म भिक्षुहरूले वर्षा बास बस्ने परम्परा रहँदै आएको छ।
विहारका अध्यक्ष सञ्जयराज शाक्यका अनुसार यस वर्ष लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्यान्ड, भारत र अछामबाट भिक्षुहरू तानसेन आइपुगेका थिए। उत्सवअघि भीमसेन टोलस्थित विहारबाट शान्ति पदयात्रा निकालिएको थियो, जसले टुँडिखेल, तेस्रो सडक, शीतल पाटी, टक्सारटोल, नारायणस्थान हुँदै पुनः टुँडिखेलमा पुगेर महोत्सवको रूप लिएको थियो।
दान कार्यक्रम तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा सम्पन्न भएको थियो। विहारमा वर्षा बास बसेका भिक्षु अनिरुद्धसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चीवर र अष्ट परिष्कार दान गरिएको थियो।