दसैँ तिहार बीच गुल्मीमा बढे सवारी दुर्घटना, मोटरसाइकल सबैभन्दा बढी प्रभावित
चितवन ,११ कार्तिक । गुल्मी जिल्लामा चाडपर्वको अवधिमा साना–ठूला गरी ५९ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार असोज ६ गतेदेखि कात्तिक ९ गतेसम्मको अवधिमा ४९ स्थानमा ती दुर्घटना भएका हुन् ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार यस अवधिमा ट्रक, बस, टिपर, कार, एम्बुलेन्स, मोटरसाइकल, ई–भी, स्कुटर, अटो र जिप गरी विभिन्न प्रकारका सवारी साधन दुर्घटनामा परेका हुन् । सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चाडपर्वमा क्षमता भन्दा बढी यात्रु राख्ने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको छ । यद्यपि यस वर्ष ठूला दुर्घटनामा केही कमी आएको प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामूलक अभियानका कारण दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको बताइएको छ । चाडपर्वको समयमा सम्भावित दुर्घटना रोकथामका लागि प्रहरीले जिल्लाभर चेकजाँच कडाइ गरेको थियो ।
यातायात सहज बनाउन र सहजीकरणका लागि प्रहरीले दुई दर्जनभन्दा बढी स्थानमा सहायता कक्ष स्थापना गरेको थियो । प्रहरीले चालकहरूलाई गति नियन्त्रणमा राख्न र ट्राफिक नियम पालना गर्न आग्रहसमेत गरेको छ ।
						  
					
    




















