पाल्पामा ईभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु र ४ जना घाइते
चितवन ,१२ कार्तिक । पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपस्थित भित्री सडकमा आज दिउँसो ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०००१ ज ००९१ नम्बरको ईभी भ्यान रैनादेवीछहरा–४ पिपलभञ्याङमा आज दिउँसो १ बजे दुर्घटनामा परेको स्थानीयवासी इश्वर ज्ञवालीले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा रैनादेवीछहरा–४ का ४५ वर्षीय चालक कमलबहादुर रायमाझी, सोही वडाका रामबहादुर गाहा, र रैनादेवीछहरा–१ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी रहेका छन् ।
दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार भ्यान सडकबाट करिब १५ मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
						  
					
    





















