आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चितवन, १५ कार्तिक । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ, भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने सम्भावना छ।
दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अपेक्षा गरिएको छ। यी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
						  
					
    




















