गङ्गा जमुना मेला हिजोदेखि धादिङमा सुरु
चितवन, १५ कार्तिक । तेह्र सय वर्षअघिदेखि चलिआएको उत्तरी धादिङको प्रसिद्ध गङ्गा जमुना मेला हिजोदेखि सुरु भएको छ। हरेक वर्ष हरिबोधिनी एकादशीको अघिल्लो दिनदेखि सुरु हुने यो मेला दुई दिनसम्म सञ्चालन हुने परम्परा रहेको छ।
मेलाका अवसरमा भक्तजनहरूले पहिलो दिन पूजा–आराधना गरी रातभर जाग्राम बस्ने गर्छन्। त्यसपछि एकादशीको दिन बिहान गङ्गा जमुनाको झरनामा स्नान गरी, झरनाको बिचमा रहेको मन्दिरमा गएर महादेवको पूजा–आजा, डोली तार्ने र बत्ती सेलाउने धार्मिक विधिहरू सम्पन्न गरेपछि मेला समापन गरिन्छ।
स्थानीय विश्वासअनुसार गङ्गा र जमुना नामले परिचित तीन सय मिटर माथिबाट झर्ने यो झरनामा स्नान गरे मनोकांक्षा पूरा हुने विश्वास छ। त्यस्तै, झरनाको फेदमा रहेका दुई कुकुर धारोमा स्नान गरे रेबिजसहितका रोग नलाग्ने जनविश्वास रहिआएको छ।
यस वर्षको मेलामा धादिङ, गोरखा, नुवाकोट लगायत विभिन्न जिल्लाबाट हजारौं भक्तजनहरूको उपस्थितिले धार्मिक र सांस्कृतिक वातावरण उल्लासमय बनेको छ।
						  
					
    


















