जेन–जी आन्दोलनको भावना विपरीत काम भएको भन्दै निगमको बेथिति अन्त्य गर्न निर्देशन
चितवन, १६ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ।
पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका पदाधिकारीहरुलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री कार्कीले जेन-जीहरूले यत्रो रगत बगाएको नातावाद, कृपावाद, विभेद अन्त्यका लागि भएको भन्दै आन्दोलन भइरहेकै बेला भटाभट आफ्ना मान्छे भर्ना गरेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न नछाडेको भन्दै उहाँले यस्तो बेथिति अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभयो ।
यसैगरी, अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरू सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भन्नुभयो, ‘हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो। त्यो पनि छैन।’
प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिनुभयो।
‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन्। तपाइँहरु किन खुरुखुरु त्यस्तो दबाब मान्ने? भोलि कारबाहीमा पर्ने त तपाईँहरू हो नि,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो, ‘तपाइँहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन। राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन। अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस्।’
निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उहाँले प्रश्न उठाउनुभयो।
‘यो घाटा त जनताले बेहोरेको घाटा हो नि,’ उहाँले भन्नुभयो, ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ। अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।’
निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उहाँले प्रश्न गर्नुभयो।
‘सरकारले नै यति ठूलो स्रोतसाधन उपलब्ध गराएको छ। सरकारले साथ दिइरहेको छ। तैपनि, यो संस्था घाटामा जानुको कारण के हो?’ उहाँको प्रश्न थियो, ‘बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि?’
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गर्नुभएको थियो ।
निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो।।
						  
					
    





















