अछाम आगलागी पीडितलाई सुदूरपश्चिम सरकारद्वारा रु आठ लाख सहयोग
चितवन, २० कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
आज मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उहाँको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले साँफेबगर नगरपालिकालाई आगलागी पीडितका लागि तत्काल रु आठ लाख उपलब्ध गराउने निर्णय गरेको हो।
मुख्यमन्त्री शाहका अनुसार, आगलागीबाट प्रभावित परिवार र व्यवसायीलाई मानवीय सहायता स्वरूप उक्त रकम नगरपालिकामार्फत वितरण गरिनेछ। उनले भने, “साँफेबगर बजारमा क्षति पुगेका परिवार र व्यवसायीलाई तत्कालका लागि रु आठ लाख सहायता दिने निर्णय भएको छ। सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार गरी रकम वितरण गर्नेछ।”
त्यसैगरी, बैठकले दार्चुलाको व्यास गाउँपालिका–१ टिङ्कर र छाङरु क्षेत्रमा गत भदौमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त पुल पुनःनिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।
यसबाहेक, कञ्चनपुरका लालझाँडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधरा चाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट हुने क्षति न्यूनीकरणका लागि रोकथामका उपाय अपनाउन तथा टर्चलाइटलगायत सुरक्षा सामग्री वितरण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ।





















