राष्ट्रपति पौडेल कतार भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
चितवन, २० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका छन् ।
उनी गत मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका थिए ।
उनलाई त्यहाँस्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गरेको उनको सचिवालयले जनाएको छ ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका थिए । उनले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरे ।
साथै उनले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गरेका थिए।





















