चितवनमा यस वर्ष धान उत्पादन २१ हजार मेट्रिकटनले बढ्यो
चितवन, २१ कार्तिक । चितवन जिल्लामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० मेट्रिकटन बढी धान उत्पादन भएको कृषि विकास कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४.९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। प्रति हेक्टर ४.९६७ मेट्रिकटन उत्पादन प्राप्त भएको उनले बताए। यसअनुसार जिल्लामा एक लाख ३५ हजार ७२५.०६ मेट्रिकटन धान उत्पादन भएको हो।
बेमौसमी वर्षाका कारण ३० हेक्टर क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको र त्यसबाट १४९.०१ मेट्रिकटन धान नोक्सानी भएको पौडेलले जानकारी दिए।
गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४.२ मेट्रिकटन धान उत्पादन भएको थियो।
यस वर्ष जिल्लामा हर्दिनाथ–६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान र गङ्गोत्री जस्ता धानका जात लगाइएका थिए। समयमा पानी परेकाले र रोग–किराको प्रकोप न्यून भएकाले धान उत्पादनमा सुधार आएको कार्यालयले जनाएको छ।



























