सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र छपाइ प्रक्रिया सुरु
चितवन, २१ कार्तिक । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै सुरक्षण मुद्रण केन्द्रको मेसिनबाट छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको काभ्रेको बनेपास्थित केन्द्रमा आजदेखि लाइसेन्स छपाइ सुरु भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मेसिनबाट छपाइ शुभारम्भ गर्दै कानुनी जटिलता र विविध कठिनाइका बाबजुद लाइसेन्स छपाइ सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वर्षौँदेखि मेसिनहरू प्रयोगविहीन अवस्थामा थन्किएका थिए। धुलो लागेको, खण्डहर जस्तो बनेको ठाउँमा अहिले छपाइ सुरु गरिएको छ।”
मन्त्री खरेलका अनुसार केन्द्रको मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर र हुलाक टिकटलगायतका सामग्री छाप्न सकिनेछ। उहाँले थप्नुभयो, “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ।”
पहिले लाइसेन्स, राहदानी र राष्ट्रिय परिचयपत्र जस्ता महत्वपूर्ण दस्तावेज सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर छापिने गरिन्थ्यो। तर, पूर्वाधार र स्रोत साधन हुँदाहुँदै पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर यो प्रक्रिया सुरु गरिएको हो।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले कानुनी र प्राविधिक जटिलताहरू समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिनुभयो। पहिलो चरणमा १२ लाख लाइसेन्सको छपाइ सम्झौता अनुसार आजदेखि काम सुरु भएको छ। सुरुमा दैनिक पाँच सय छापिने व्यवस्था छ, र आवश्यकतानुसार मात्रा बढाइनेछ।
कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार केन्द्रले आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर पनि छाप्न सक्नेछ। हालसम्म सुरक्षण मुद्रण केन्द्रमा झण्डै तीन अर्ब रुपैयाँ लगानी भएको छ।






















