महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज मनाइँदै
चितवन, २५ कार्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति तथा समाज सुधारका महान् प्रवर्तकका रूपमा परिचित छन् ।
समाज सुधारका लागि उहाँले ‘सत्य धर्म मुचुल्का’ नामक नीति निर्माण गर्नुभएको थियो, जुन विसं १९८८ वैशाख २४ गते जारी गरिएको थियो । समाजमा नैतिकता, सत्यता र एकताको भावना विकास गर्न उहाँको योगदान उल्लेखनीय मानिन्छ ।
महागुरु फाल्गुनन्दको विसं २००५ मा निधन भए पनि उहाँको विचार र योगदान आज पनि जीवित छन् । किरात समाज सुधारमा पु¥याउनुभएको योगदानको कदरस्वरूप नेपाल सरकारले विसं २०६६ मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
फाल्गुनन्द जयन्ती किराँती समुदायको बसोबास रहेका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतका स्थानहरूमा विशेष रूपमा मनाइँदै आएको छ । त्यस्तै, राजधानी काठमाडौंमा पनि किरात समुदायले विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरी महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउँदै छन्, किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माका अनुसार ।



















