दुवाकोट मूलसडक पेटीमा वृक्षारोपण तथा सरसफाइ अभियानको १३३ औं हप्ता सम्पन्न
चितवन, २९ कार्तिक । चाँगुनारायण नगरपालिका–२ दुवाकोट मूलसडक पेटीमा विभिन्न जातका विरुवाहरू रोपेर तिनलाई ट्रिगार्डमार्फत संरक्षण गरिएको छ। नेपाल प्रहरीले आयोजना गरेको १३३ औँ हप्ताको कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआईजी) तथा केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी भए। कार्यक्रमका क्रममा स्थानीय उपभोक्तालाई सडक पेटीमा जडान गरिने गरी डस्टबिन पनि वितरण गरिएको थियो।
वृक्षारोपण गर्दै डिआईजी काफ्लेले भयरहित र सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै वातावरणीय सरसफाइ र संरक्षणमा अभियानले पुर्याएको योगदानप्रति प्रशंसा व्यक्त गरे।
समुदायका लागि २ घण्टा अभियानका संयोजक तथा वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानले आफ्नो वडालाई वातावरणमैत्री बनाउन वृक्षारोपण, सरसफाई, फोहोर व्यवस्थापन आदि कार्यलाई निरन्तरता दिइएको बताए। यस्ता गतिविधि थप प्रभावकारी बनाउन वडावासीको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
राष्ट्रको लागि २ घण्टा अभियानका अध्यक्ष मधु ढुंगेलले चाँगुनारायण नगरपालिका–२ कार्यालय र समुदायको सतत सहयोगका कारण अभियान १३३ औँ हप्तासम्म निरन्तर अघि बढेको बताए। रोपिएका बिरुवाको संरक्षणका लागि दुई जना जनशक्ति व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
नेप्सेम्याकको सहयोगमा वारुदखाना चोकदेखि काठमाडौं मेडिकल कलेजसम्म सडक किनारमा स्वामी, कपुर, कल्की, काईयो, पँयु र ज्याकरण्डा प्रजातिका विरुवा रोपिएका छन्। ट्रिगार्ड र डस्टबिन सहित आवश्यक सामग्री चाँगुनारायण नगरपालिका तथा शहरी उत्थानशीलता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएका आईसेट नेपाल र डिसिए नेपालले उपलब्ध गराएको अभियानका सहजकर्ता नवराज काफ्लेले बताए।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का निर्वतमान अध्यक्ष शिवहरि केसी, जनप्रतिनिधि प्रेम खत्री तथा उमेश प्रधान, आईसेट नेपाल र डिसिए नेपालका कार्यक्रम अधिकृत भरत ढुंगाना, लियो क्लब अफ भक्तपुर केएमसीका अध्यक्ष आकाश झा, नेपाल रेडक्रस दुवाकोट उपशाखा अध्यक्ष मन्दिरा कार्की, वडा कार्यालयका वास संयोजक राममाया रानामगर, नेप्सेम्याक, दुवाकोट स्वास्थ्य चौकी, प्रहरी प्रभाग दुवाकोट, विद्यालय, जेष्ठ नागरिक मञ्च तथा टोल सुधार समितिका प्रतिनिधिसहित स्थानीयको उल्लेख्य सहभागिता थियो।



















