आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
चितवन, ०१ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले दिउँसो ४ बजे प्रतिस्पर्धा गर्नेछन्।
यस वर्षका सबै खेलहरू त्रिवि मैदानमै दिउँसो र रातिको सत्रमा आयोजना हुने क्यानले जनाएको छ। दैनिक ९ हजार ४५० टिकट बिक्रीको व्यवस्था गरिएको छ भने उद्घाटन खेलका टिकट तीन दिन अघि नै सबै बिक्री भइसकेका छन्। अधिक भिड व्यवस्थापन गर्न क्यानका सचिव पारस खड्काले अतिरिक्त दर्शकलाई घरमै बसेर हेर्न आग्रह गरेका छन्।
मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा लिग चरणसहित तीन प्लेअफ र फाइनल गरी ३२ खेल हुनेछ। उद्घाटन दिवसका लागि सामान्य टिकट ५ सय र प्रिमियम १५ सय रूपैयाँ तोकिएको छ। अन्य दिनको लिग खेलमा सामान्य ५ सय र प्रिमियम १ हजार शुल्क लाग्नेछ। प्लेअफपछिका खेलमा सामान्य टिकट १ हजार र प्रिमियम २ हजार हुनेछ। सिजनल पासको मूल्य १५ हजार रूपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोली—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स—प्रतिस्पर्धामा छन्।
मंगलबार, दोस्रो दिनको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्।



















