कमला पुलको १४ वर्षदेखि लम्बिएको निर्माण, मन्त्री घिसिङद्वारा स्थलगत अनुगमन
चितवन, ०५ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले हुलाकी राजमार्ग अन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माण भइरहेको पुलको स्थलगत अनुगमन गर्नु भएको छ।
मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीले शुक्रबार कमला पुलको प्रगतिबारे निरीक्षण गरेको थियो।
करीब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल समयमै नसकिँदा स्थानीयले लगातार समस्या भोग्दै आएका छन्। पुल नबन्दा सवारीसाधनलाई लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने, स्थानीयको दैनन्दिन यात्रा प्रभावित हुनेजस्ता गुनासा बढेपछि मन्त्री घिसिङले समस्या समाधानका लागि स्थलमै पुगेर निरिक्षण गरेका हुन्।
हुलाकी राजमार्गलाई तराई–मधेसको लाइफ लाइन मानिन्छ। यसै मार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड ९१ लाख (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो। प्रारम्भिक सम्झौता अनुसार २०७१ मंसिरमै पुल सकिनुपर्ने थियो। तर पटक–पटक म्याद थपिरहनु परेपछि अन्तिम पटक थपिएको अवधि गत असारमा समाप्त भएको छ। निर्माण व्यवसायीले आगामी असारसम्म म्याद थप गरिदिन प्रस्ताव पेस गरेको र प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माणमा आएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै भने,“यो पुल समग्र मधेसको विकासका लागि अत्यन्त महत्वपूर्ण छ। अब निर्माण तीव्र गतिमा अघि बढाइन्छ। विगतमा भएका अनियमितताको छानबिन भइरहेकाले दोषीलाई कानुनबमोजिम कारबाही हुनेछ।”
स्थानीयहरूले पनि पुल छिटो निर्माण गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरे। निरीक्षणका क्रममा मन्त्री घिसिङ धनुषातर्फबाट डुङ्गा चढेर सिराहा पट्टि पुग्नुभएको थियो, जहाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग संयुक्त रूपमा स्थल अनुगमन सम्पन्न भएको थियो।
हालसम्म २० करोड ४३ लाख (भ्याटसहित) भुक्तानी भइसकेको छ। पुलको भौतिक प्रगति ८३% र वित्तीय प्रगति ८२% पुगेको छ।
१२ स्पान रहेको ४६९ मिटर लामो पुल निर्माण व्यवसायीले नै ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा बनाइरहेका छन्। पुलसँगै १३०० मिटर नदी नियन्त्रण कार्य र २०० मिटर पहुँच सडक निर्माण गर्ने जिम्मेवारी पनि ठेक्कादारकै छ।
२०७८ असार १७ मा आएको बाढीले पुलका २ जग भासिनुका साथै ४ वटा स्लाबमा क्षति गरेको थियो। तीमध्ये २ स्लाब हटाइएका छन् भने बाँकी २ हटाउन बाँकी छ। विज्ञ टोलीले माटो परीक्षणपछि परिमार्जित डिजाइन तयार पारी स्वीकृत गरिसकेको छ।
अब सिराहा पट्टिका २ स्लाब हटाउने, एउटा पायल क्याप तयार गर्ने र अर्कोमा २ मिटर स्टिम ढलान गर्ने कार्य पूरा गर्न बाँकी छ।
सरकारले आगामी असारभित्र परिमार्जित डिजाइन अनुसार पुल निर्माण समाप्त गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।























