चितवनमा प्रतिनिधिसभा निर्वाचनका लागि २२ हजार बढी मतदाता थप
चितवन , ०८ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ नयाँ मतदाता समावेश भएका छन्। तीमध्ये ११ हजार ९० जना बायोमेट्रिक विधिबाट र ११ हजार २४८ जना राष्ट्रिय परिचयपत्रमार्फत दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख भीमशेन कार्कीका अनुसार बायोमेट्रिकमार्फत दर्ता भएका मध्ये ६ हजार ३११ पुरुष, ४ हजार ७७६ महिला र ३ तेस्रो लिङ्गी मतदाता छन्। अन्य जिल्लाबाट आएका २ हजार १२३ जनाले पनि चितवनमै नाम दर्ता गराएका छन्। ती सबैले गत असोज १० देखि मंसिर ५ गतेसम्म नाम लेखाएका थिए।
यस अवधिमा ३४४ जनाले त्रुटि सच्याउने निवेदन दिएका छन् भने १ हजार ७२८ जनाले स्थानान्तरण (ठाउँसारी) निवेदन गरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा चितवनमा ४ लाख २१ हजार ३९२ मतदाता थिए, जहाँ तेस्रो लिङ्गी मतदाता केवल एक जना मात्र थिए।
अन्तिम सूची प्रकाशनसम्म मतदाताको संख्या अझै बढ्न सक्ने कार्कीले बताएका छन्। बाहिरी जिल्लामा बसेका चितवनबासीले समेत नाम दर्ता गरेको हुनसक्ने भएकाले संख्या परिवर्तन हुन सक्छ।
आगामी निर्वाचनका लागि जिल्लामा १६२ मतदान स्थल यथावत रहने छन्। एक हजार मतदातामा एक मतदान केन्द्र पर्ने प्रावधानअनुसार नयाँ मतदाताको सङ्ख्या हेरी केन्द्रहरू थप गरिने छ।




















