वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा ३ जना पक्राउ
चितवन, १० मंसिर । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौँ महानगरपालिका–२४ बस्ने ४२ वर्षीय विशाल बज्राचार्य र काठमाडौँ महानगरपालिका–४ बस्ने लमजुङ दोर्दी गाउँपालिका–६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन् ।
पक्राउ मध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ, विशालले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४७ हजार ५ सय रुपैयाँ र पुड्केले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमृतलाई काठमाडौँ महानगरपालिका–११ बाट सोमबार तथा विशाल र पुड्केलाई काठमाडौँ महानगरपालिका– १२ बाट मङ्गलवार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएका छन् ।





















