महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल समूह ‘बी’ मा, जनवरी १८ मा पहिलो खेल
चितवन, ०८ पुष । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुन लागेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। आगामी जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहनेछ।
क्यानद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनाएको हो। नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन्।
त्यस्तै, समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, अमेरिका र पपुवा न्यूगिनी रहेका छन्। प्रतियोगिताका खेलहरू मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने क्यानले जनाएको छ।
नेपालले प्रतियोगिताको उद्घाटन खेल आगामी जनवरी १८ तारिखमा थाइल्यान्डसँग खेल्नेछ। उक्त खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ। दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्स चरणबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।

























