क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास
चितवन, १० पुष । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्नता बीचको राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउन इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
क्रिसमसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यस्ता पर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान र धार्मिक आस्थाभित्र रहेका समुदायहरू बीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना प्रगाढ़ हुने कुरामा विश्वास व्यक्त गरेका छन्।
यस पर्वले सबै नेपालीहरू बीच विश्वास, प्रेम र एकताको भावना बलियो बनाउने प्रेरणा प्रदान गर्ने राष्ट्रपति पौडेलले कामना गरेका छन्।
सन्देशमा भनिएको छ, “‘क्रिसमस डे’ प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन गर्दै मानवता, समानता र सेवाभावलाई प्रोत्साहन दिने एक अवसर हो, जसले सामाजिक एकता कायम गर्न र इतिहास र संस्कृति जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यस्ता पर्वहरूले आपसी सद्भाव र भाइचारा प्रवर्धन गर्दै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छु।”


























