भेनेजुएलामा तनाव चर्कियो: नयाँ राष्ट्रपतिलाई ट्रम्पको कडा सन्देश
चितवन, २१ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कारबाहीको विरोध गरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी भेनेजुएलाकी नवनियुक्त राष्ट्रपतिलाई दिनुभएको छ।
राष्ट्रपति डेल्सी रोड्रिगेजले शपथ लिनुअघि नै ट्रम्पको यस्तो चेतावनी आएको हो।
नवनियुक्त राष्ट्रपति रोड्रिगेजले आफ्ना नेता निकोलस मदुरो र उहाँकी श्रीमतीलाई रिहा गर्न माग गर्दै अमेरिकी कदमको कडा आलोचना गर्नुभएको छ। उहाँले अमेरिकी हस्तक्षेपलाई भेनेजुएलाको सार्वभौमिकतामाथिको आक्रमणका रूपमा व्याख्या गर्नुभएको छ। यद्यपि अमेरिकाले भने मदुरोको शासनकालमा भेनेजुएलाली नागरिकले ठूलो पीडा भोग्नुपरेको दाबी गर्दै अब देशमा विकास र प्रगतिको नयाँ बाटो खुल्ने बताउँदै आएको छ।
यसैबीच अमेरिकाले भेनेजुएलामाथि कूटनीतिक तथा आर्थिक दबाबलाई थप कडा बनाउँदै लगेको छ। भेनेजुएलाको अन्तरिम नेतृत्वले आगामी दिनमा लिने कदमहरूलाई अमेरिकाले नजिकबाट मूल्याङ्कन गर्ने र त्यसअनुसार नीति तय गर्ने जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पले भेनेजुएलासम्बन्धी नीतिगत निर्णयमा सबै विकल्प खुला राख्ने नीति अपनाएको जानकारी दिनुभयो।
यता भेनेजुएलाका कार्यवाहक राष्ट्रपति रोड्रिगेजले अमेरिकी कारबाहीप्रति आपत्ति जनाउँदै राष्ट्रपति मदुरो र उहाँकी पत्नीलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। शनिबार अमेरिकाले भेनेजुएलामा गरेको सैन्य कारबाहीपछि राष्ट्रपति मदुरो र उहाँकी पत्नी हाल न्यूयोर्कको हिरासतमा रहेका छन्।
अमेरिकी कदमप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ। धेरै देशहरूले एक सार्वभौम राष्ट्रमाथि बल प्रयोग गरिएको भन्दै असहमति जनाएका छन् र शान्तिपूर्ण समाधानको आह्वान गरेका छन्। युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव बढ्न नदिन सबै पक्षलाई शान्ति र संयम अपनाउन आग्रह गरेको छ।





















