आचारसंहिता उल्लङ्घनको आरोपमा सात व्यक्ति तथा निकायलाई निर्वाचन आयोगको स्पष्टीकरण
चितवन, १३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालयसहित सात जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।
नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) ले सामाजिक सञ्जालमार्फत सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टीविरुद्ध गाली, भ्रामक, द्वेषपूर्ण तथा व्यक्तिगत मानहानि हुने सामग्री प्रसारण गरेको भन्दै आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भएको हो वा होइन भनी स्पष्टीकरण माग गरेको हो ।
त्यसैगरी श्रम संस्कृति पार्टीले दलको लोगो, नाम, चिह्न र उम्मेदवारको तस्बिर अंकित टिसर्ट लगाई बालबालिकालाई प्रयोग गरेको आरोपमा आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा. निकोलस) ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको जुत्तासम्बन्धी विषयमा उजुरी परेपछि त्यसबारे स्पष्ट पार्न आयोगले जवाफ मागेको छ ।
नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घले निर्वाचन अवधिमा ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने उजुरी परेपछि आयोगले कुन मितिमा र के प्रयोजनका लागि अधिवेशन गर्न लागेको हो भनी तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
त्यस्तै आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई बालविकास शिक्षिकालाई करकाप गरी सरुवा गरिएको भन्ने उजुरीका आधारमा दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।
नेकपा (एमाले) का भक्तपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतमाथि मधेसी समुदायको संस्कृति र पहिचानमाथि प्रहार तथा घृणास्पद अभिव्यक्ति दिएको आरोपमा संविधान, निर्वाचन आचारसंहिता तथा विभिन्न कानुन उल्लङ्घन भएको हो वा होइन भनी आयोगले जवाफ माग गरेको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सार्वजनिक बहसका सन्दर्भमा सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियाबारे पनि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
आयोगका अनुसार यसअघि समेत आठवटा निकायसँग स्पष्टीकरण सोधिएको थियो । आजसम्म आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका १५ वटा प्रकरणमध्ये हालसम्म एउटाको मात्र जवाफ प्राप्त भएको छ ।



















