सामान्य वर्षामै सडक हिलो, पूर्व–पश्चिम राजमार्गमा सवारी जाम
चितवन, १४ माघ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा वर्षाका कारण सडक अत्यन्तै हिलो र चिप्लो बनेपछि सवारी आवागमन प्रभावित भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै गाडी चिप्लिएर सडकमा फसेपछि सडक एकतर्फी सञ्चालनमा सीमित भएको छ। आज बिहान परेको वर्षाका कारण उकालोमा सवारी साधन अघि बढ्न नसक्दा लामो जाम सिर्जना भएको प्रहरीले जनाएको छ।
“हल्का वर्षामै पनि सवारी साधन चिप्लिएर गुड्न सकेका छैनन्। हिलो सडकमा ट्रक फसेपछि समस्या झन् जटिल बनेको छ,” प्रहरी उपरीक्षक खड्काले बताए। पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधन उकालोमा फसेपछि हाल सडक पूर्ण रूपमा अवरुद्धजस्तै बनेको छ।
दाउन्ने खण्डमा सडक अवरुद्ध हुँदा सवारी आवागमनमा गम्भीर समस्या देखिएको भन्दै नारायणगढ–बुटवल सडक आयोजनाले मर्मत कार्य गरी यथाशीघ्र सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। बुटवल–नारायणगढ सडक विस्तार परियोजनाअन्तर्गत दाउन्ने खण्डको निर्माण कार्य अझै पूरा नभएकाले सामान्य वर्षामा पनि पटक–पटक सडक अवरुद्ध हुने गरेको जनाइएको छ।



















