स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील
चितवन, १५ माघ । स्याङ्जा जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेको हो।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार सुरक्षाका आधारमा मतदानस्थललाई तीन वर्गमा विभाजन गरी केन्द्रमा सिफारिस गरिएको छ। स्याङ्जामा रहेका एक सय ९९ मतदानस्थलमध्ये ७२ वटा सामान्य, ७१ वटा संवेदनशील र ५६ वटा अति संवेदनशील रहेका छन्।
“सडक तथा यातायातको पहुँच, सुरक्षा अवस्था, भौगोलिक बनावट, सूचना तथा सञ्चारको उपलब्धता र विगतका निर्वाचनमा भएका गतिविधिलाई आधार मानेर मतदानस्थलको सूची तयार गरिएको हो,” उनले भने, “यही संवेदनशीलताका आधारमा सुरक्षा योजना बनाइने छ।”
निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका दुवै निर्वाचन क्षेत्रका विभिन्न राजनीतिक दल, सम्बद्ध उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन्।
मतदानस्थलको संवेदनशीलताअनुसार आवश्यक सुरक्षा योजना तयार गर्न जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति र निर्वाचन अधिकृतको संयुक्त टोलीले जिल्लाका मतदानस्थलहरूको स्थलगत अध्ययन तथा अनुगमन गरिरहेको छ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा हाल एक सय ९९ मतदानस्थल र तीन सय २२ मतदान केन्द्र रहेका छन्। गत निर्वाचनमा तीन सय २० मतदान केन्द्र रहेकामा यसपटक दुई मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए।
विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका दुई लाख ४८ हजार ८१६ मतदाताले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने छन्। जिल्लामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तीन हजार ८८७ जनाले बढी रहेको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन्।





























