सहिदहरूको बलिदानकै कारण देश ऐतिहासिक मोडमा पुगेको हो : प्रधानमन्त्री कार्की
चितवन, १६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र दृढ सङ्कल्पका कारण मुलुक आज परिवर्तनको ऐतिहासिक चरणमा उभिएको बताउनुभएको छ ।
सहिद दिवसको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
सन्देशमा उहाँले सहिदहरूको बलिदानकै कारण देश परिवर्तनको मार्गमा अघि बढ्न सफल भएको उल्लेख गर्दै अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गर्नुभएको छ । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि उहाँले विशेष नमन गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको स्थायी दायित्व भएको स्मरण गराउँदै सहिदहरूको सपना साकार पार्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।



















