खोटाङ र म्याग्दीका २९ मतदानस्थल अति संवेदनशील सूचीमा
चितवन, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै खोटाङ र म्याग्दी जिल्लाका २९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा निर्वाचनका लागि १३६ मतदानस्थल तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार मतदानस्थललाई सुरक्षा जोखिमका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार २१ मतदानस्थल अति संवेदनशील, ६४ संवेदनशील र ५१ स्थललाई सामान्य सूचीमा राखिएको हो ।
उनले मतदाताले सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न सक्ने व्यवस्था मिलाइने जानकारी दिँदै मतदानस्थलको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी परिचालन गरिने बताउनुभयो । जिल्लामा एक लाख ४७ हजार १२० मतदाता रहेका छन् । निर्वाचन आचारसंहिता पालनाको अनुगमन तथा कारबाहीका लागि सहायक प्रमुख जिल्ला अधिकारी राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको छ ।
दश स्थानीय तह रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ । विभिन्न राष्ट्रिय तथा स्थानीय राजनीतिक दलका उम्मेदवारसहित दुई जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, म्याग्दी जिल्लामा पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार ८२ मतदानस्थलमध्ये २९ संवेदनशील र ४५ सामान्य वर्गमा वर्गीकरण गरिएको छ ।
छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८२ मतदानस्थलअन्तर्गत १२० मतदान केन्द्र कायम गरिएका छन् । विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, यातायात तथा सञ्चार पहुँचका आधारमा सुरक्षा रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।
निर्वाचनका लागि म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता रहेका छन् । एक स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रशासनले जनाएको छ ।




















