महिला टी–२० विश्वकप छनोट : बंगलादेशको स्कटल्यान्डमाथि ९० रनको जित
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२ | १२:५९:०८
चितवन, १६ माघ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बंगलादेशले स्कटल्यान्डलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
यसअघि नै महिला टी–२० विश्वकपका लागि छनोट भइसकेको बंगलादेशले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनायो । बंगलादेशका लागि कप्तान निगर सुल्तानाले अर्धशतकीय इनिङ्स खेल्दै ५६ रन जोडिन् । यस्तै, शोभना मोस्तारीले ४७ रन बनाइन् भने जुअरिया फरडोसले २२ रनको योगदान दिइन् ।
१९२ रनको कठिन लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०१ रनमा सीमित भयो । बंगलादेशी बलर मारुफा अख्तरले तीन विकेट लिँदा सोर्ना अख्तरले दुई विकेट हात पारिन् ।
प्रकाशित मिति : शुक्रबार, माघ १६, २०८२ |
१२:५९:०८
309


















