प्रत्यक्षतर्फ महिला उम्मेदवार ओझेलमा: मधेसी, दलित र मुस्लिम महिलाको चुनावी आवाज कमजोर
चितवन, १६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला उम्मेदवारहरू चुनावी चर्चा र परिचर्चाबाट बाहिर परेका छन् । अधिकांश महिलाले स्वतन्त्र वा साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरूको आवाज कमजोर बनेको विश्लेषकहरू बताउँछन् । सञ्चारमाध्यममा समेत मधेसी महिला उम्मेदवारले पर्याप्त स्थान नपाएको गुनासो छ ।
आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी दिएका छन् । तीमध्ये १५७ जना स्वतन्त्र उम्मेदवार हुन् । मधेस प्रदेशबाट स्वतन्त्रसहित ११० जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मधेस प्रदेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी सप्तरीबाट २० जना र सबैभन्दा कम सर्लाहीबाट आठ जना महिला उम्मेदवार रहेका छन् ।
मधेस प्रदेशमा प्रतिनिधिसभाका ३२ सिटमध्ये ठूला दलले सीमित मात्र महिलालाई उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेसले दुई, नेकपा (एमाले)ले तीन र राष्ट्रिय स्वतन्त्र पार्टीले चार जना महिलालाई उम्मेदवार बनाएको छ । अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारको सङ्ख्या भने उल्लेख्य रहेको छ ।
यस प्रदेशमा नेपाल मजदुर किसान पार्टीले सबैभन्दा बढी पाँच जना महिलालाई उम्मेदवार बनाएको छ । आम जनता पार्टीले चार, जनमत पार्टी र मङ्गोल नेशनल अर्गनाइजेशनले दुई–दुई जना महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । राप्रपा, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायत अन्य दलबाट एक–एक जना महिला उम्मेदवार रहेका छन् ।
रौतहट–२ निर्वाचन क्षेत्रमा भने एक जना पनि महिला उम्मेदवार छैनन् । केही पूर्वमन्त्रीहरूको राजनीतिक भविष्य जोडिएकाले उक्त क्षेत्रमा प्रतिस्पर्धा चर्को हुने अनुमान गरिएको छ । अधिकांश महिला उम्मेदवारले दलमा अवसर नपाएको र आफ्ना मुद्दा उठाउन स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताउँछन् ।
धनुषा–३ बाट पूर्वमन्त्री तथा एमाले नेतृ जुलीकुमारी महतो पुनः चुनावी मैदानमा उत्रिएकी छन् । उनी कांग्रेसका विमलेन्द्र निधिसहित विभिन्न दलका प्रभावशाली उम्मेदवारसँग कडा प्रतिस्पर्धामा रहेकी छन् । यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट महतो विजयी भएकी थिइन् ।
त्यस्तै, महोत्तरी–२ बाट कांग्रेस नेतृ किरण यादव चुनावी प्रतिस्पर्धामा छन् । महिलामैत्री राजनीति अपरिहार्य भएको बताउँदै उनले समान अवसर मात्र नभई समान उपलब्धिका लागि महिलाको जित आवश्यक रहेको धारणा राखेकी छन् । उक्त क्षेत्रमा जसपा नेपालका शरतसिंह भण्डारीसहितका उम्मेदवारसँग उनको कडा टक्कर देखिएको छ ।
बारा–३ बाट एमाले नेतृ ज्वालाकुमारी साह पनि चुनावी मैदानमा उत्रिएकी छन् । उनी कांग्रेस, जसपा, जनमत पार्टी र रास्वपाका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।
अधिकांश महिला उम्मेदवारले राजनीतिमा महिलाको पहुँच कमजोर रहेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । “मेरो प्रतिनिधित्वले अरू महिलालाई पनि राजनीतिमा आउन प्रेरणा मिलोस्,” स्वतन्त्र उम्मेदवारहरूको साझा भनाइ छ ।
स्वतन्त्र उम्मेदवार अम्बिकादेवी साफीले दलित र अल्पसङ्ख्यक मुस्लिम महिलालाई योजनाबद्ध रूपमा ओझेलमा पारिएको आरोप लगाउँदै अधिकार सुनिश्चित गर्न चुनावी सहभागिता अपरिहार्य भएको बताइन् ।




















