राष्ट्रपति पौडेल आज जापान जाँदै
चितवन, १८ माघ । राष्ट्रपति रामचन्द्र पौडेल आजदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आइतबार राति ११:३० बजे जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते सोही एयरलाइन्सको उडान नं. ४३४ मार्फत दिउँसो ४:३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्।
त्यसैगरी, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। सोही दिन राष्ट्रपति पौडेल र जापानकी प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने तालिका पनि छ। साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन्।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन्।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू पनि भ्रमणमा सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

























