पृथ्वी राजमार्गको महत्वपूर्ण खण्ड अझै अधुरो, छ महिना म्याद थप
चितवन, १८ माघ । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु सडक आयोजना सम्झौताअनुसार सम्पन्न हुन नसक्दा छ महिनाको म्याद थप गरिएको छ।
तीन वर्षभित्र काम सक्नेगरी विसं २०७९ पुस १५ गते सम्झौता भए पनि हालसम्म ३७ प्रतिशत मात्र प्रगति भएपछि निर्माण कम्पनीलाई थप १८३ दिन समय दिइएको हो।
मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन चरणमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो। तेस्रो चरणको म्याद गत पुस १५ गते सकिएपछि आयोजनाले थप समय प्रदान गरेको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार प्रारम्भिक डिजाइनको तथ्याङ्क गलत परेकाले नक्साङ्कनमा समस्या आएर समयमै निर्माण कार्य अघि बढ्न सकेन। सोही कारण निर्माण कम्पनीलाई म्याद थप गरिएको उहाँले बताउनुभयो।
निर्माण कम्पनीले भने सडक क्षेत्र खाली हुन ढिलाइ, रुख तथा विद्युत् खम्बा सार्न समय लाग्नु, निर्माण सामग्री सहज उपलब्ध नहुनु तथा सवारी चाप बढी हुनुजस्ता कारणले काम प्रभावित भएको जनाएको छ। हाल डिजाइनसम्बन्धी समस्या समाधान भइसके पनि अन्य विषय अझै छलफलमै रहेको दरैको भनाइ छ।
आयोजनाअनुसार हालसम्म करिब ३७ दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ। नौ किलोमिटरभन्दा बढी सडकमा कालोपत्र सम्पन्न भइसकेको छ भने धादिङको चरौदी क्षेत्रमा कालोपत्र जारी छ। फिस्लिङलगायत अन्य क्षेत्रमा कालोपत्रको तयारी भइरहेको छ।
नाली, बेरियर, पुल निर्माण तथा अन्य संरचनागत काम पनि विभिन्न स्थानमा अघि बढिरहेको आयोजनाले जनाएको छ। हाल दैनिक करिब १५० जना मजदुर परिचालन गरेर निर्माण कार्यलाई तीव्रता दिइएको छ।
३८ दशमलव ८६ किलोमिटर लामो यस सडक खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन, सात दशमलव दुई किलोमिटर चार लेन तथा उकालो–ओरालो क्षेत्रमा दुई दशमलव तीन किलोमिटर ‘क्लाइम्बिङ लेन’ निर्माण गरिनेछ। बाँकी सडक दुई लेनको हुनेछ।
शर्मा–जेडआइसिजी निर्माण कम्पनीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस सडक खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो। विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौँ प्रवेश र बहिर्गमनको मुख्य नाका भएकाले समयमै सम्पन्न गराउन आयोजना पक्षले निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गर्दै काम तीव्र पार्न निर्देशन दिएको जनाएको छ।



























