सामाजिक सञ्जालमा मतदाताको गोपनीयता नछेड्न झापा प्रशासनको आग्रह
चितवन, १९ माघ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमार्फत मतदातासँग ‘कुन दल, उम्मेद्वार वा चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न नगर्न आग्रह गरेको छ। यस प्रकारका प्रश्नले मतदाताको गोपनीयता भङ्ग हुने भन्दै प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेद्वारा आइतबार जारी विज्ञप्तिमा केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग मतदानसम्बन्धी प्रश्न सोधेर गोपनीयता उल्लङ्घन गरिरहेको गुनासो प्राप्त भएपछि सार्वजनिक सूचना जारी गरिएको उल्लेख गरिएको छ।
प्रशासनका अनुसार यस्तो कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४(द) बमोजिम स्पष्ट रूपमा आचारसंहिता उल्लङ्घन हो। यदि कसैले अटेर गरी यस्तो गतिविधि जारी राखेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ।



























