हाम्रो पार्टीले देशको नेतृत्व गर्नेछ, प्रधानमन्त्री हामी नै हुन्छौँ : कुलमान घिसिङ
चितवन, २२ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालको प्रभावबाट मात्रै स्थापित भएको पार्टी नभएको स्पष्ट पार्नुभएको छ।
पार्टीले जनकपुरमा सञ्चालन गरेको ‘जनताको घरदैलो’ कार्यक्रममा सहभागी हुँदै उहाँले प्रधानमन्त्रीको छनोट भाषणका आधारमा नभई काम र उपलब्धिका आधारमा जनताले गर्ने बताउनुभयो। उज्यालो नेपाल पार्टी जेन–जी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्तिका रूपमा अघि आएको उहाँको भनाइ थियो।
देशमा सामाजिक तथा आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा स्थापित हुने दाबी गर्नुभयो। निर्वाचनपछि आफूहरू नै देशको नेतृत्व गर्दै प्रधानमन्त्री बनेर परिवर्तन गर्ने उहाँले उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “हामी काम गरेर नतिजा दिएका मानिसहरू यो पार्टीमा छौँ। हामी डेलिभरी दिन आएका हौँ। अबको भोट भनेको काम गरेर देखाउनेलाई हो, भाषण गर्नेलाई होइन। समाज र देशको आर्थिक रूपान्तरण गर्न डेलिभरी दिने पार्टी र व्यक्तिलाई नै भोट दिनुपर्छ। उज्यालो नेपाल पार्टी भाषण र सामाजिक सञ्जालबाट मात्रै बनेको होइन, काम र परिणामबाट अर्गानिक रूपमा स्थापित भएको पार्टी हो। यही पार्टीले देशको नेतृत्व गर्नेछ। हामी कसैलाई प्रधानमन्त्री बनाउन होइन, आफैँ प्रधानमन्त्री बनेर देश परिवर्तन गर्न आएका हौँ। भाषणले होइन, कामले प्रधानमन्त्री बनाउँछ, र अन्ततः जनताले छानेपछि मात्रै प्रधानमन्त्री हुने हो।”

















