विकासका सपना साकार पार्न दृढ कार्यान्वयन आवश्यक छ : केपी शर्मा ओली
चितवन, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सपना देख्नुका साथै त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट योजना र दृढ कार्यान्वयन अपरिहार्य हुने बताउनुभएको छ। उहाँले नाकाबन्दीको कठिन समय सम्झँदै जनताको मनोबल जोगाउन स्वदेशमै ग्यास उत्खनन गरी भान्सासम्म पुर्याउने सपना अघि सारेको उल्लेख गर्नुभयो। दैलेखमा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन र उत्खनन प्रक्रिया अघि बढाइएकै कारण त्यहाँ १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास पुष्टि भएको उहाँको भनाइ छ।
नमुना परीक्षण सफल भए पनि सरकारबाट बाहिरिनुपरेपछि परियोजनाले निरन्तरता नपाएको बताउँदै ओलीले फेरि सरकारमा आएपछि स्वदेशी ग्यास प्रयोग गर्ने सपना पूरा गरी देशलाई ऊर्जा आत्मनिर्भर बनाउने सङ्कल्प अडिग रहेको स्पष्ट गर्नुभयो। साथै, विकास सम्भव छ भन्ने विश्वास जगाउनु नेतृत्वको दायित्व भएको र दीर्घकालीन राष्ट्रिय परियोजनाका लागि राजनीतिक स्थायित्व र निरन्तरता आवश्यक हुने धारणा व्यक्त गर्नुभयो।

















