नागरिकको आक्रोशको जवाफ सुधारबाटै दिनुपर्छ: सभापति गगन थापा
चितवन, २३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकमा देखिएको असन्तुष्टि र आक्रोशको उत्तर सुधारमार्फत दिनुपर्ने बताएका छन्।
कांग्रेस कास्कीले आज पार्टी कार्यालयमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सबै असन्तुष्टिको जवाफ जिम्मेवारीपूर्वक काम गरेर दिनु आवश्यक रहेकोमा जोड दिए। उनले राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति नागरिकमा गहिरो अविश्वास र निराशा बढ्दै गएको उल्लेख गरे।
“नागरिकमा रिस गहिरो छ। चरम निराशा र अविश्वास छ। यी सबै यथार्थलाई आत्मसात गर्दै देशलाई सम्हाल्नुपर्छ,” उनले भने, “देशलाई निकास दिने शक्तिका रूपमा कांग्रेसले निर्णायक भूमिका खेल्नुपर्छ।”
सभापति थापाले देशमा देखिएको निराशाको मूल कारण भ्रष्टाचार भएको उल्लेख गर्दै अब कांग्रेस भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धाका रूपमा बदलिएर चुनावमा होमिएको बताए। विगतमा हिंसाको आहालबाट देशलाई बाहिर निकालेको कांग्रेसले अब भ्रष्टाचारको आहालबाट पनि नेपाललाई मुक्त गराउने दाबी उनले गरे।
निर्वाचनलाई केन्द्रमा राख्दै हरेक मतदाताको घरदैलोमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति थापाले जनताका समस्या धैर्यताका साथ सुन्न आग्रह गरे। “देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी कांग्रेस निर्वाचनमा होमिएको छ। अब कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देश लिएर जनतामाझ जानुपर्छ,” उनले भने, “सबै पार्टी पंक्ति एकताबद्ध भएर निर्वाचनमा होमिनुपर्छ।”
सभापति थापा सभापछि पार्टीको गण्डकी प्रदेश समितिको बैठकमा सहभागी भएका थिए। उनलाई प्रदेश सभापति शुक्रराज शर्माले स्वागत गरेका थिए।
बैठकको सुरुआतमा सभापति शर्माले जनताको चाहनाअनुसार देशलाई अघि बढाउने महत्वपूर्ण जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए। निर्वाचनमार्फत पार्टीलाई थप सशक्त बनाउँदै देशका हरेक समस्याको समाधानतर्फ अग्रसर हुन सबैलाई परिचालित हुन निर्देशन दिए।
बैठकमा गण्डकी प्रदेश समितिका पदाधिकारी, प्रतिनिधिसभा सदस्य निर्वाचनका कांग्रेस उम्मेदवार तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।
























