निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
चितवन, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी (भक्तपुर) मा छपाइ गरिएको हो। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कुल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथर लगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।
यसैगरी इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङको समेत मतपत्र छपाइ पूरा भइसकेको छ। लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया सहित कुल ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङको काम पनि सकिएको र हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको प्रवक्ता जिसीले जानकारी दिनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि छपाइ सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । आयोगका अनुसार पुस २६ गतेदेखि सुरु गरिएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ माघ १३ गते सम्पन्न भई दुई करोड आठ लाख ३० हजार मतपत्र प्याकिङ, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको र माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको हो।
























