टी–२० विश्वकप : पाकिस्तानले भारतसँग खेल्ने निर्णय गर्यो
चितवन, २७ माघ । सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान अन्ततः तयार भएको छ।
भारतसँग खेल्न १० दिनअघि अस्वीकार गरेपछि उत्पन्न भएको लामो गतिरोध यससँगै अन्त्य भएको हो। पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आगामी फेब्रुअरी १५ मा कोलम्बोमा दुई देशबीचको खेल हुने पुष्टि गरेका छन्।
पाकिस्तान सरकारका अनुसार श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) सहितका आईसीसी सदस्य राष्ट्रहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेल बहिष्कार नगर्न आग्रह गरेका थिए। खेल नहुँदा अन्य सहभागी राष्ट्रहरूलाई समेत ठूलो आर्थिक नोक्सानी हुने भन्दै ती देशहरूले चासो व्यक्त गरेका थिए।
यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीच टेलिफोन संवाद भएको पनि बताइएको छ।

























