केपी शर्मा ओली संयोजकत्वमा एमालेको घोषणापत्र मस्यौदा कमिटी गठन
चितवन, २७ माघ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्ने प्रक्रिया अघि बढाउँदै विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिरहेको छ।
पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतबाट घोषणापत्रका लागि सुझाव लिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार केही जनवर्गीय सङ्गठनका प्रतिनिधिहरू कार्यालयमै आएर सुझाव दिएका छन् भने कतिपयले इमेलमार्फत आफ्ना सुझाव पठाएका छन्।
सचिव डा. अधिकारीले प्राप्त सुझावहरूलाई समेट्दै घोषणापत्रको अन्तिम मस्यौदा तयार गर्ने काम भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न क्षेत्रबाट आएका सुझावलाई आधार बनाएर घोषणापत्रको अन्तिम रूप दिइँदैछ।”
एमालेले आगामी फागुनको पहिलो सातामा प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
घोषणापत्र मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कमिटी गठन गरिएको छ। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।
























